
काठमाडौं । घरेलु टोली केन्याले तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।
पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे ।
कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १र१ विकेट लिए ।
आज नेपाल घरेलु टोलीविरुद्ध दोस्रो जितको खोजीमा रहेको छ । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा रहेको छ ।
पाँच खेलको सिरिजमा नेपाल र केन्या १/१ को अवस्थामा रहेको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
टीट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।