कांग्रेसको अहंकारले सिट बाँडफाँड मिलेन : नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण सिट बाँडफाँड टुंगो नलागेको बताएका छन्।

शनिबार विराटगरमा आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनको कांग्रेसको अहंकार आगामी निर्वाचनको बाधकको रुपमा देखा पर्न थालेको बताए। ‘२०७४ सालमा कांग्रेसले २३ सिट जितेको थियो। अहिले १०० सिटको माग गरिरहेको छ,’ उनले भने, ‘हामी ७० सिट दिन तयार छौं। तर, सहमति जुट्न सकेको छैन।’

सहमतिका लागि पटक-पटक प्रयास भए पनि सहमतिको सम्भावना क्षीण हुँदै गएको अध्यक्ष नेपालले बताए। हैसियतभन्दा बढी सिट माग गरेको हुनाले जटिलता उत्पन्न भएको उनले जिकिर गरे। उनले भने, ‘बालुवाटारमा बालुवा पेलेको पेलै छौं। तर, तेल निस्किएको छैन।’

अघिल्लो चुनावमा जित हाँसिल गरेको आधारमा सिटको भागबण्डा गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए। तर, चुनावअघि बाम एकताको सम्भावना भने नरहेको उनले स्पष्ट पारे। उनले भने, ‘चुनावअघि वाम गठबन्धनको सम्भावना नरहे पनि चुनावपछि भने अवस्था हेरेर हुनसक्छ।’

विराटगरमा आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation