
काठमाडौँ । बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइन्छ । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ। देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ।
घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ।
नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ।आजको दिन नै हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।