धनुषा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ ।
दुर्घटनामा मुखियापट्टी मुसहरिनियाँ तुल्सियाहीकी ३५ वर्षीया रुवि साह, महोत्तरी पीपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा जीप चालक धनुषाका धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुरकाे ज्यान गएकाे हाे ।
आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बाेकेर इँटहरीबाट फर्किँदै गरेकाे बा १ ज ८२९६ नम्बरको जीपलाई माछा बाेकेकाे ज १ च १४९६ नम्बरकाे जीपले ठक्कर दिएकाे हाे । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय अर्वण साह, १० वर्षीय आयुषकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीया प्रियङ्का साह, ५ वर्षीया प्रतिका साह र ४ वर्षीय अंशु साह रहेका छन् । उनीहरुकाे प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेकाे छ। घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले ठक्कर दिने जीप र जीपका चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको जानकारी दिनुभयाे ।