बुटवलका डिएसपी ठगबहादुर सीआईबीको नियन्त्रणमा, निवासमै भेटियो ३५ तोला सुन र २५ लाख

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले नियन्त्रणमा लिएर राखेको छ ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको स्रोतको दाबी छ । करिब १३ महिना अघि केसी बुटवल आएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रबिन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे आफूले पनि थाहा पाएको तर आधिकारिता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए। यसबारेमा कुरा गर्न डिएसपी ठगबहादुर केसीलाई सम्पर्क गर्दा उनको फोन उठेन।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation