काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी नायब महानिरीक्षक डिआइजी को नेतृत्वमा अनुसन्धान समिति बनेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी की डिआइजी दुर्गा सिंहको नेतृवमा पाँच सदस्यीय समिति बनेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए।
उनका अनुसार यस टोलीमा एक जना चिकित्सक पनि छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यसको अनुसन्धान गर्न निर्देशन दिएसँगै नयाँ समिति बनाएर अनुसन्धान सुरू गरिएको डिआइजी राईले बताए।
गृहमन्त्री लामिछानेले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर यस घटनाको अनुसन्धानको प्रगति विवरणबारे बुझेका थिए।
२०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
उनीमाथि बलात्कार भएको पोस्टमर्टम रिपोर्टले देखाएको थियो।
निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो।
विष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी थियो। तर निर्मलाको भजाइनल स्वाबको नमूनासँग विष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।
गत सोमबार पदभार ग्रहण गरेसँगै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने निर्णय गरेका थिए।