सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ : अध्यक्ष रोषन

प्युठान । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।

यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।

उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।

कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation