काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्।
बुधबार बिहान सभापति देउवा निवास धुम्बाराही पुगेर दुवै अध्यक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। अध्यक्ष नेपालले राष्ट्रपति र सभामुखलगायतको संवैधानिक पदको निर्वाचनका विषयमा छलफल भएको जानकारी दिए।
सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको एकीकृत समाजवादी पार्टीले राष्ट्रपति लगायतका पदमा मिलेर जाने विषयमा नेपालले देउवासँग छलफल गरेका हुन्।
यता जसपा अध्यक्ष यादवले सभापति देउवासँग मधेश सरकारका मुख्यमन्त्रीका लागि विश्वासको मत मागेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिँदैछन्। यादवलाई विश्वासको मत माग्न अध्यक्ष यादव देउवा समक्ष पुगेका हुन्।