
सैनामैना । सैनामैना नगरपालिकाको वडा नं ७ देवपार स्थित बुद्ध इङलिस स्कुलले खेलकुद कार्यक्रम –२०७९ को सुरुवात गरेको छ ।
विद्यार्थीहरुको क्षमता प्रस्फुटन गराउने ध्येयका साथ विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बुधबार विद्यालय परिसरमा खेलकुद प्रतियोगिताको समुद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले गर्नुभएको हो ।
विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई तहगत कक्षागत तथा अन्तरसदनात्मक रुपमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा उद्घाटन सत्रको दिनमा विभिन्न दुरीका दौड , रिले दौड , बोरा दौड, भित्र बाहिर , चम्मा दौड लगायतका विभिन्न खेलहरु सम्पन्न भएका छन भने विद्यार्थीको क्षमता प्रस्फुटन हुने खालका धेरै खेल प्रतियोगिताहरु बाकी रहेको विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक बालकृष्ण घिनिरेले जानकारी दिनुभयो ।
किताबी सैद्धान्तिक ज्ञान सङ्ग सङ्गै विद्यार्थीहरु भित्र लुकेर रहेका अन्तर निहित प्रतिभाहरुलाई उजागर गर्ने हेतुले खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य लेखनाथ गैरेले जानकारी दिनुभयो ।
यसरी आयोजना गरिने खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा शारीरिक विकास गर्नुका साथै प्रतिस्पर्धी भावनाको बिकास गर्नमा टेवा पुर्याउने विद्यालय परिवारको ठम्याइ छ ।
विद्यालयले विद्यार्थीहरुलाई पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापहरुमा समेत प्राथामिकता दिदैं प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।