मलाई पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट छैन : ऊर्जामन्त्री लिङ्देन

काठमाण्डाै । उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताउनुभएको छ । शुक्रवार आजदेखि काठमाण्डाैको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदर्शनीले  नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताउनु भयो । उहाँले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताउनु भयो ।

उहाँले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु । यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनै पनि कामहरु, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ ।’

मन्त्री लिङ्देनले नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताउनु भयो । उहाँले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले देशभित्रै उद्योगधन्दा बढीभन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताउनु भयो । उहाँले आउँदाे दिनमा देशमा उद्योगधन्दाको व्यापक विस्तार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा हामी सबै लाग्नुपर्छ, छिमेकीहरुसँग व्यापारको कुरा त छँदैछ तर देशभित्रै पनि यसको खपत बढाउनुर्छ । इलेक्ट्रिकल भेहिकलहरु चलाउनुपर्छ । त्यसलाई सरकारले सजिलो बनाउनुपर्छ । ग्याँसको ठाउँमा बिजुलीबाट खाना पकाउन थाल्नुपर्छ । अहिले पनि म भन्छु, ग्यासबाट खाना पकाउने खर्चको आधा खर्चमा बिजुलीले पाक्छ । इण्डक्शन चलाउनुपर्छ । देशभित्रै उद्योगधन्दाको स्थापना हुनुपर्छ । उद्योगीहरुलाई सरकारले लगानीको सुरक्षित हामी गर्छौँ भन्ने वातावरण बनाउनुपर्छ । त्यसतर्फ हामी उन्मुख हुन्छौँ र देशमा व्यापक रुपमा उद्योगधन्दाको विस्तार हुनुपर्छ ।’

मन्त्री लिङ्देनले सरकारमा आफ्नो पार्टी प्रवेश गरेसँगै विभिन्न शङ्का र उपशङ्काहरु गरिएको भन्दै सरकारमा बसेर शङ्काहरु चिर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीप्रति अनेकप्रकारका शङ्का, उपशङ्काहरु गरिएको छ, यो हाम्रो अग्निपरीक्षा हो, हामी खरो उत्रिएर उत्तीर्ण गर्छौं ।’

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation