संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन् : सांसद चौधरी

काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाउनुभएको छ ।

शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पूर्व प्रधानमन्त्रीहरु नै सिस्टम मिलाएर अर्बौं भ्रष्टाचारहरु गर्न लागिपरेको आराेप लगाउनुभयो । उहाँले आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर परिमार्जन गर्ने काम भएकाे पनि बताउनु भयो ।

यस्तै उहाँले संसदमा आएर कुतर्क गर्नेहरुलाई संविधानअनुसार कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो । उहाँले अहिले पनि नेपालको संविधान धेरै शंकटमा रहेको बताउनु भयो । उहाँले अहिलेका गतिविधिहरुलाई सच्याउन नसके प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुने बताउनु भयो ।

‘आज हामीले लाख, करोड, अर्बका भ्रष्टाचारहरु सिस्टम मिलाएर गरिरहेका छौँ । यो कुरामा स्वयं प्रधानमन्त्रीहरुले नै देशको ढाकछोप गरिरहेको घटनाहरु धेरै छ । प्रधानमन्त्री, सम्बन्धित व्यक्तिहरु धेरै छन् । आफूलाई मन लागेको कानून मन लागेको दिनमा राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेका छौँ । यसलाई ताजा जनादेशको रुपमा डिफाइन्स समेत गरिरको छौँ । यसलाई सत्य सावित गर्न झुटको खेती गरिरहेका छौँ । तर्क गरिरहेका छौँ । यस्ता कुतर्क गर्नेलाई नेपालको संविधानअनुसार राम्रोसँग कोचिङ क्लासको व्यवस्था गरेर सिकाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘आज पनि नेपालको संविधान बडो संकटमा छ । यदि हामीले यसलाई करेक्शन गर्न सकेनौँ भने सम्भवतः प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुनसक्छ । आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्व प्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ, यस्ता व्यक्ति संसदमा जबर्जस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ । कानूनी राज्य समाप्त हुनसक्छ ।’

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation