राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ । यही माघ २५ गते लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रबार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो। कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिएको छ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। कार्यालयका अनुसार उपनिर्वाचनका लागि माघको २५ गते दाङको घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान हुनेछ।

उपनिर्वाचनका लागि माघ ८ गते  बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ। सोही दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दावी विरोधको उजुरी दिने प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको  लागि दरखास्त दिने, नाम, थर, उमेर, पद आदि सच्याउन र प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ।

माघ ९ र १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निवेदन तथा उजुरीउपर छानबिन र कारवाही गर्ने समय तोकिएको कार्यालयले जनाएको छ।

माघ १० गते दिउँसो ३ देखि ४ बजेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गरिने र माघ ११ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय कार्यालय तोकेको छ।

सोही दिन दिउँसो ३ देखि ४ बजेसम्म  मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ।

माघ १२ गते  बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय रहेको छ भने माघ १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय गर्ने कार्यालयले जनाएको छ।

माघ १४ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र माघ १५ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारले नामावली फिर्ता लिने समय तोकिएको छ।

माघ १६ गते बिहान १० देखि १२ बजेसम्म नामावली प्रकाशन गर्ने र सोही दिन १२ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारहरूको अन्तिम उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मतदान केन्द्रमा निर्वाचन हुने कार्यालयले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने कानुनी व्यवस्था छ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि खाली रहेको  उक्त सिटमा उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

भट्टराई २०७४ सालमा राष्ट्रियसभा सदस्यमा चुनिएका थिए भने उनको कार्यकाल ६ वर्षको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation