राष्ट्रपतिको निर्वाचन माघ २८ भित्रै हुनुपर्छ : कांग्रेस

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन कानुनबमोजिम माघ २८ भित्रै गर्न माग गरेको छ।  सोमबार धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसमा कांग्रेसले पनि उम्मेदवारी दिने प्रस्ट पारे।

‘कुनै कारणबाट पछि सार्ने काम हुनुहुँदैन। ऐनमा समस्या छन् भने समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकार निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ,’ उनले भने,‘राष्ट्रपतिको निर्वाचन समयमा हुनुपर्छ। कुनै कारणबाट पछि सार्ने काम हुनुहुँदैन। ऐनमा समस्या छन् भने समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकार निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। फागुन २९ भन्दा उता लैजाने प्रयास भइरहेका छन्। यसमा कुनै पनि हालतमा स्वीकार हुँदैन। यो समयमा आलटाल गरेर निर्वाचन सार्ने कुरा स्वीकार हुँदैन। कानुनगत कुरा भए हटाउनुपर्छ।’

प्रवक्ता महतले सत्तारूढ दलले कानुनमा व्यवस्था भए भन्दा फरक ढंगले निर्वाचन सार्ने तयारी गरेको आशंकासमेत गरे। साथै कांग्रेसले राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे सत्तारूढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरूसँग पनि छलफल गर्ने भएको छ।

उनले भने, ‘कांग्रेसले अरू दलहरूको पनि सहयोग लिएर प्रस्तुत हुने दृष्टिकोण रहेको छ। यसमा हामी संसदमा रहेका अन्य दलहरूसँग पनि छलफल प्रक्रिया अगाडि बढाउने कुरा गरेका छौं। कुनै पनि हालतमा यो पर सर्नु हुँदैन। ऐनमा एक महिनाको व्यवस्था छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल यही फागुन २८ मा सकिँदै छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation