
कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन हुनभएका छन् । हिजो मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर केसी ‘ओम’, महिला उपाध्यक्षमा गीता पौडेल, एसोसियट उपाध्यक्षमा अनुप चौधरी, बस्तुगत उपाध्यक्षमा बेदराज नेपाली, उद्योग उपाध्यक्षमा नेत्र पाण्डे, वाणिज्य उपाध्यक्ष शंकर भाट क्षेत्री, खुला उपाध्यक्षमा हेमनाथ पौडेल, महासचिवमा बासुदेव खनाल, कोषाध्यक्षमा सालिकराम आचार्य, सचिवमा होतराज पोख्रेल ‘शिशिर’, सह कोषाध्यक्षमा गोविन्द पौडेल चयन भएका छन् । तीन सदस्यीय लेखा समितिको संयोजकमा विष्णु सापकोटालाई जिम्मेवारी दिइएको संघले जनाएको छ ।
यसैबिच नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम नारायण पराजुलीले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन तथा बैङ्किङ नीतिले उद्योगी व्यवसायीहरु ‘गर या मर’ को अवस्थामा पुगेको बताउनु भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन–२०७९ तथा बैङ्किङ नीतीका कारण आफूहरुको घरबास मात्रै नभएर जीवन नै जोखिममा परेको बताउनु भएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुको प्रथम साधारण सभालाई संम्बोधन गर्दै महासचिव पराजुलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियन्त्रणमा राख्न पनि आग्रह गर्नुभएको छ । चालु पुँजी कर्जा मार्गदर्शन, तरलता अभाव तथा उच्च विन्दुमा पुगेको व्याजदरका कारण आफूहरु मारमा परेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवहारिक बनिदिन उहाँले आग्रह गर्नुभएको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले कोरोनाको मारमा परेका उद्योगी व्यवसायीलाई माथि उठाउनको लागि बाणगंगा नगर गम्भिर रहेको बताउनु भएको थियो । नगरभित्र रहेका व्यापार व्यवसायको प्रबद्र्धनमा यहाँ रहेका सम्पुर्ण संघ संस्था मिलेर जानुको विकल्प नरहेकोले एक अर्काका खुट्टा तान्ने प्रवृत्ति हटाउन आवश्यक रहेको उहाँले बताउनु भएको थियो ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख श्रावण कुमार शैनिले जिल्लामा रहेका उद्योग व्यापार संघहरु दर्ता गर्दा विभिन्न समस्या आउने गरेको भन्दै त्यसलाई निर्मुल पार्नको लागि जिल्लामा रहेका सम्पुर्ण व्यापार व्यवासायी मिलेर जानुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा घरबहाल सरोकार महासंघ कपिलवस्तुका प्रमुख शंकर कोइराला, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डे, कपिलवस्तु चेम्वर अफ कमर्शका अध्यक्ष महादेव पोख्रेल, मदिरा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सन्देश कक्षपति, पत्रकार महासंघ कपिलवस्तुका पुर्व अध्यक्ष तथ उद्योग व्यापार संघ कपिलवस्तुका प्रेस सल्लाहकार डिलाराम भुसाल लगायत बोल्दै उद्योगी व्यापारीलाई अहिले बैँक र घरबेटीहरुले निक्कै अफ्ठ्यारोमा पारेकोले त्यसको विरुद्धमा जिल्लाका सम्पुर्ण उद्योगी व्यापारी एक भएर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए ।
कार्यक्रम उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलको अध्यक्षता, नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुलीको प्रमुख आतिथ्यता, बाणगंगा नगरापालिका प्रमुख चक्रपाणी अर्याल, उद्योग व्यापार संघ लुम्बिनीका अध्यक्ष तथा केन्द्रीय सदस्या खेम श्रीस, संघका केन्द्रीय सदस्यहरु गोविन्द गैरे, टोपनारायण बेल्वासे, भन्सार कार्यालय कपिलवस्तुका अध्यक्ष गगन बहादुर विक, आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्धवराज न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख श्रवण कुमार शैनिको विशिष्ट आतिथ्यतामा कार्यक्रम स्म्पन्न भएको थियो ।