
पाल्पा । ट्याक्टर दुर्घटना गराएर नक्कली चालकलाई जेल पठाउने तयारी गरेको आरोपमा प्रहरीले सवारी धनीलाई पक्राउ गरेको छ । गत पुस २४ गते कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–३, निकीचौरमा भएको ट्याक्टर दुर्घटनामा सवारी धनीले रामपुर नगरपालिका–१०, गेझाका ३४ वर्षीय भन्सार कुमाललाई चालकका रुपमा तयार पारेर प्रहरीकोमा प्रस्तुत गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले ’नक्कली चालक’ भन्सार कुमाल, चालक बगनासकाली गाउँपालिका–६, का १९ वर्षीय थमनबहादुर थापा र सवारी धनी रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय डिल्लीराम अर्याललाई समेत पक्राउ गरेको छ ।
ट्याक्टर दुर्घटनामा रम्भा गाउँपालिका–१, हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको थियो । घटनामा सवारी धनी अर्यालले नक्कली चालक कुमाललाई आर्थिक प्रलोभन देखाएर चालक बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । कुमाललाई नक्कली चालक बनाएर नगद १ लाख दिने सहमति गरेका थिए । उनलाई पेस्की स्वरुप २५ हजार दिइसकेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्लाका अधिकांश दुर्घटनामा सवारी धनी, विभिन्न समितिले विगतमा यस्ता कार्य गर्दै आएपनि पहिलो पटक अनुसन्धानबाट यस्तो कुरा बाहिरिएको हो । दुर्घटना भएपछि सवारी धनीले चालक फरार रहेको जानकारी दिने गर्छन् । जिल्लाका अधिकांश ट्याक्टर, टिपर लगायत चलाउनेसँग सवारी चालक अनुमतिपत्र नै नहुने प्रहरीले बताउँछन् ।
चालक अनुमति पत्र नै नभएका व्यक्तिले चलाएको सवारीको दुर्घटनाबाट कसैको ज्यान गएमा यातायात व्यवस्था ऐन २०४९ अनुसार कम्तीमा ३ वर्षदेखि जन्म कैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ ।