
कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्र माथि उठ्न नसक्ने बताएका छन्।
कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा मंगलबारदेखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई माथि उठाउने गरी आफू गम्भीरताका साथ लागि परेको बताए। नेपालको अर्थतन्त्र यति वेला सङ्कुचनमा आएको बताउँदै व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।
सरकारले आफ्ना २१ बुँदे कार्यक्रम सार्वजनिक गरेको बताउँदै एक साताभित्र आफ्नो मन्त्रालयले पनि कार्य योजनामा निर्माण गर्ने बताए। यसमा उद्योग वाणिज्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गदै अघि बढ्ने विश्वास दिलाए।
मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा उद्योगलाई माथि उठाउने गरी बजेट विनियोजनमा जोड दिने बताए। निजी क्षेत्रको अभिभावक नपाएको गुनासो बढेको भन्दै ती गुनासोलाई सम्बोधन पहिलो प्राथमिकता रहेको पनि प्रतिबद्धता जनाए।
कपिलवस्तु जिल्लामा उद्योगको संख्य धेरै रहेकोले अहिले जटिल समयमा उद्योगलाई बचाउनुपर्नेमा जोड दिए। धार्मिक तथा पर्यटकीय हिसाबले पनि कपिलवस्तु जिल्ला ऐतिहासिक रहेकाले यहाँ रहेका स्थलमा पर्यटकलाई आकर्षित गराउनुपर्ने बताए।
महोत्सवले यो क्षेत्रको उद्योग, व्यापार, पर्यटन, वेषभूषा‚ कला, संस्कृतिको संरक्षण र प्रवर्धन गर्न मद्दत पुग्ने कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष डोलकराम घिमिरेले बताए।
‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव माघ २९ गतेसम्म चल्नेछ।