युद्ध अभ्यास विस्तार गर्न उत्तर काेरियाली नेता किमकाे निर्देशन

एजेन्सी ।  उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वाशिङटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले सुदृढ युद्ध तयारीका निम्ति निर्देशन दिनुभएको हो ।

क्षेप्यास्त्र परीक्षण र हतियार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपको शान्ति एवम् स्थायित्वलाई पहिलेदेखि नै उत्तेजक बनाएका उत्तर कोरियाली नेताले अतुलनीय शक्ति प्रदर्शन गर्न तथा विकासका नयाँ चरण खोल्न सशस्त्र सैन्य बललाई आदेश दिनुभएको देशको आधिकारिक समाचार समितिले जनाएको छ ।

उत्तर कोरियाले सैन्य परेडको योजना बनाइरहेका बेला याे बैठक भएको हो । आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमबाट नवीनतम शक्ति प्रदर्शन गर्ने प्योङयाङको तयारीले संयुक्त राज्य अमेरिका र एसिया–प्रशान्त क्षेत्रका उसका सहयोगीलाई थप चिन्तित बनाएको छ ।

नेता किमका शीर्ष सैन्य अधिकारीहरूको प्रतिनिधित्व रहेको आयोगका सदस्यहरूले सेनामा महान् परिवर्तन ल्याउने, युद्ध अभ्यासलाई निरन्तर विस्तार गर्ने र युद्धको तयारीलाई तीव्र गतिमा अघि बढाउनेबारेमा छलफल गरेका समितिले बताएको छ । बैठकमा सैन्य मामिलामा मौलिक सुधारका साथै त्यसको सुदृढीकरणमा जोड दिइएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation