
दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने संकेत गर्नुभएको छ ।
मुलुक र जनताको हितका निमित्त राजनीतिक समिकरण फेरबदल भइरहने र अव पनि मुलुकको आवश्यकताअनुसार पुनः राजनीतिक समिकरण बदलिनुलाई स्वभाविक मान्नु्पर्ने नेता सिंहले बताउनुभयो । सुदुरपश्चिम प्रदेश सरकार फेरबदल भएपछि नेता सिंहले यसलाई पुरानै राजनीतिक गठबन्धन कायम हुने संकेतका रुपमा चर्चा गर्नुभएको छ ।
‘राजनीतिमा मुलकको हितका लागि जे हुनुपर्छ, त्यो हुन्छ’, नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले साे धारणा राख्नुभएकाे हाे ।
नेता सिंहले भन्नुभयो,‘ सुदुरपश्चिम प्रदेश सरकार फेरबदलमा देखिएको राजनीतिक घटनाक्रमले फरक राजनीतिक मोड लिन सक्ने देखिएको छ ।’ नेता सिंहले अहिलेको गठबन्धन दीगो रुपमा जान नसक्ने संकेत देखा परिसकेको समेत बताउनुभयो ।
सङ्घीयतालगायतका उपलव्धीहरु कार्यान्वयनसँगै मुलुक र देशको हितका लागि बलियो गठबन्धन आवश्यक भए पनि बर्तमान गठबन्धनमा देखिएको अस्थीरताले लामो समय जान नसक्ने देखाएको बताउनुभयो ।
‘देशमा सङ्घीयता लगायतका उपलव्धी कार्यान्वयनसँगै अहिले देखिएको संकट व्यवस्थापनका लागि बलियो गठबन्धनसहितको सरकार आवश्यक छ’,उहाँले भन्नुभयो,‘तर अहिलेको गठबन्धनमा असन्तुष्टि देखा परिसकेको छ । यो लामो समयसम्म जाने संकेत होइन ।’
नेपाली कांग्रेस प्रमुख विपक्ष दल भए पनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्य अनुसार नै प्रधानमन्त्रीलाई विश्वास मत दिएको बताउनुभयो ।
त्यसैगरी, नेता सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानलाई पूर्ण कार्यान्वयनका लागि दलको ईच्छाशक्ति कमजोर हुँदा सङ्घीयताका विषयमा नकारात्मक विचार पैदा हुने स्थिति सिर्जना भएको बताउनुभएको छ । सङ्घीयता कार्यान्वयनमा दलहरुले चासो कम दिादा नकारात्मक टिप्पणी भइरहेको उहाँको तर्क थियो ।
‘राजनीतिक परिवर्तनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर जारी भएको संविधान पनि सबै दलबाट कार्यान्वयन गर्न लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पूर्ण रुपमा कार्यान्वयनमै नआउँदै विरोध गर्नु राम्रो होइन । दलहरुले यो विषयमा गम्भीर रुपमा सोच्नुपर्छ ।’
मुलुकमा राजनीतिक स्थायित्वका लागि हिजोका दिनमा जसरी सबै दल एक ठाउँमा उभिएर अघि बढेको जस्तै अब देश विकासका लागि, नागरिकको जनजीविका उकास्न दलहरु केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको थियो ।