
बुटवल । मानव बेचबिखन तथा अवैध ओसारपसारको अभियोगमा एक होटल सञ्चालकसहित बुटवलमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमामा होटल हेभन सञ्चालक तुलसीराम पराजुली र कामदार पूजा विक रहेका छन् ।
दुई वर्षदेखि फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । होटेल सञ्चालक पराजुली माघ २३ मा पक्राउ परेपनि अनुसन्धान प्रभावित हुने भन्दै घटना बाहिर ल्याएको थिएन ।
२०७६ सालमा बुटवलको राजमार्ग चौराहामा वेलकम रेस्टुरेन्ट सञ्चालन गरेका पराजुलीले कामदारको रूपमा पूजा विकलाई राखेका थिए । पराजुलीले पूजाको सहयोगमा अन्य युवतीलाई पनि होटलमा कामदारका रूपमा ल्याएर बिना पैसा काममा लगाउने, कम सेवा सुविधा दिने र अन्य शंकास्पद गतिविधि देखाउन थालेपछि युवतीहरूले पूजाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी हालेका थिए ।
पूजाले उक्त होटल आफूले सञ्चालन गरेको नभई तुलसीराम पराजुलीको भएको प्रहरीसामु बताएपछि प्रहरीले पराजुलीको खोजीकार्य अगाडि बढाएको थियो । पराजुली फरार रहेपछि पूजालाई पनि प्रहरीले त्यत्तिकै छाडेको थियो । पराजुलीले लगानी गरेको वेल्कम रेस्टुरेन्ट हाल बन्द छ ।