ज्ञानेन्द्रजी दुई-चार जना वरपर देख्यो भने जोस्सिनुहुन्छ : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् । दुई चार जना वरपर देखेमा जोस्सिएर पूर्वराजा शाहले विज्ञप्ति दिने गरेको ओलीको भनाइ थियो ।

आइतबार विराटनगर विमानस्थलमा ओलीलाई पत्रकारहरूले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले राजनीतिक दलहरूलाई आफूसँग मिलेर जान भनी दिएको सन्देशलाई लिएर प्रश्न गरेका थिए । ‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । उहाँलाई अझै पनि त्यो पुरानो झल्को आइराख्छ । त्यो झल्काले, दुईचारजना मान्छे वरपर देख्यो भने उहाँलाई अलिअलि जोस्याउँछ । यतिमात्र हो,’ उनले भने ।

मुलुकको अवस्था बिग्रिएको भनेर पूर्वराजा शाहले दिएको अभिव्यक्तिमा पनि सत्तारुढ दलका प्रमुख नेता ओलीले प्रतिप्रश्न गरेका थिए । ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरूले ? अरु देशहरूको तुलनामा कहाँ पुर्‍याउनुभएको थियो देश ? १५ वर्षमा कतिवटा कुरा मिल्दै होलान्, मिलाउनै पर्ने होला,’ ओलीले भने, ‘१५ वर्ष न हो, २५० वर्ष त खाएको छैन होला नि त जनताले !’

शाहले राखेको सहकार्यको प्रस्तावको जवाफमा ओलीको जवाफ थियो, ‘कोसँग, केसँग सहकार्य ? ज्ञानेन्द्रजी आएर राजनीतिमा हिँडिराख्नुभएको छ । अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यार । भएकै छ त ।’

शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यमा ढिलाइ गर्न नहुने अभिव्यक्ति दिएका थिए ।

पूर्वराजा शाहलाई एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले दिएको साथलाई लिएर कारबाही हुन्छ कि हुन्न भन्ने प्रश्न पत्रकारहरूले ओलीलाई सोधेका थिए । जवाफमा ओलीले सबै कुरा समयसँगै हुँदै जाने जवाफ फर्काएका थिए । ‘कारबाहीको किन चिन्ता भयो । भीम रावलजी एकातिर बोल्नुभएको छ, आफ्नै ढंगले चल्नुभएको छ । अर्को आफ्नै ढंगले । पानीले आफ्नो लेभल आफैं मिलाउँछ, मिलाउँदै जान्छ । त्यसमा धेरै हतार गर्नु पर्दैन,’ उनले भने ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation