पाचौं सैनामैना महोत्सव आजबाट, प्रदेश सभा सदस्य ढकालले उद्घाटन गर्ने

उपकार अनलाईन, सैनामैना ।
आजदेखि रुपन्देहीको सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव’ सञ्चालन हुदै छ । ‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सैनामैना व्यापार संघको आयोजनामा हुने मेलाको लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ भने करिव ६० लाख बराबरको आर्थीक कारोबार गर्ने लक्ष्य रहेको संयोजक पौडेलले बताए । महोत्सवको पहिलो दिन बुधबार पूर्वबाट रानिबगिया र पश्चिम मुर्गियाबाट जनचेतनामुलक र्यालीसहित मेलाको समुद्घाटन हुनेछ । स्टल व्यवस्थापन समितीका संयोजक देवीदत्त सुबेदीका अनुसार मेलामा करिब १ सय ५० स्टल रहनेछन् । मेला विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा, सैनामैनाका आदिवासीहरुको रहन सहन, भेषभुषाको प्रर्दशनी, स्थानीय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको व्यापार, पाँचौ सैनामैना डान्सिङ्ग आइडल, नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कृषि सामग्री प्रदर्शन, हस्तकला प्रदर्शनी, संस्कृतिको प्रबर्द्धन लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिए । प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक गोबिन्द पोखरेलले कृषि स्टलका लागि निःशुल्क गरिएको बताए ।

मेला प्रवेशका लागि टिकटको दर रु.७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु.५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेला सैनामैना व्यापार संघ र सैनामैना उद्योग वाणिज्य संघले आलोपालो आयोजना गर्ने सहमति अनुसार यस वर्ष सैनामैना व्यापार संघले आयोजना गर्न लागेको हो । महोत्सवको सैनामैना उद्योग बाणिज्य संघ सैनामैना रुपन्देही सह–आयोजक, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश र सैनामैना नगरपालिका प्रबर्द्धक तथा नेपाल चेम्बर अफ कर्मस लुम्बिनी प्रदेश संरक्षकको रुपमा रहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation