यि हुन् आफन्तलाई स्वकीय सचिवको जिम्मा सुम्पिने कपिलवस्तुका संघीय सांसद

कपिलवस्तु । सांसदका विभिन्न महत्वपुर्ण कार्य जस्तै सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ । तर, यति महत्त्वपूर्ण जिम्मेवारीका लागि देशका कयैँ सांसदले परिवारका सदस्यलाई मात्र योग्य ठानेर नियुक्ति दिएका छन ।

यसैबिच कपिलवस्तुका संघीय सांसदले पनि आफ्नै आफन्तलाई स्वकीय सचिवमा नियुक्त गरेको पाइएको छ । अन्य दलहरुका सांसद भन्दा कपिलवस्तुमा आफन्तलाई स्वकीय सचिवमा नियुक्त गर्नेमा नेकपा एमालेका सांसदहरु धेरै रहेका छन ।

एमालेबाट प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद मंगलप्रसाद गुप्ता, समानुपातिक सांसद अमृता अग्रहरी, सिराज अहमद फारुकीले आफ्ना भाई, भतिजा र छोरालाई स्वकीय सचिव बनाएका हुन् ।

संघीय संसद सचिवालयमा गुप्ताले आफ्ना भतिजा बृजेशकुमार गुप्तालाई स्वकीय सचिव बनाएर नाम बुझाएका छन् ।
अग्रहरीले आफ्ना छोरा पवन अग्रहरीलाई स्वकीय सचिव बनाएकी छिन् भने फारुकीले आफ्ना छोरा फौसाफ अहमत खाँलाई स्वकीय सचिव बनाएका छन् । फारुकी पार्टीका केन्द्रीय सदस्य समेत हुन् । अग्रहरी चुनावको मुखैमा एमाले प्रवेश गरी समानुपातिक सांसद पड्काएकी हुन् ।

त्यस्तै काङ्ग्रेस कपिलवस्तु बाट समानुपातिक सांसद बनेकी रुपा विकले पनि आफ्नै भाई शन्तोष विकलाई स्वकीय सचिवमा नियुक्त गरेकी छन । उनी कपिलवस्तु क्षेत्र नम्बर ३ की बासिन्दा पनि रहेकी छिन । नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी विकले आफ्नै भाइलाई स्वकीय सचिवको जिम्मेवारी सुम्पेकि हुन ।

संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७३ अनुसार सांसदका स्वकीय सचिवले मासिक ४३ हजार ६ सय ८९ रुपैयाँ तलब पाउँछन ।

लामो समय पार्टी राजनीति र आन्दोलनमा लागेका निष्ठावान कार्यकर्तालाई अवसर नदिएर सांसदहरुले आफ्नै आफन्तलाई स्वकीय सचिव बनाए पछि पार्टी भित्र पनि असन्तृष्टि पैदा भएको छ ।

स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा देशभर बाट एमालेका २०, कांग्रेसका १६, माओवादीका ६, राप्रपाका २ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत र लोसपाका एक÷एक सांसद छन ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation