
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा)ले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव र प्रमिला यादव दुईजनालाई उम्मेदवार बनाएको छ।
निर्वाचन आयोगले राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेकाले महिलाको मात्रै उम्मेदवारी लिने भनेपछि जसपाले पुरुषको उम्मेदवारी रद्द हुनसक्ने आशंकाले दुई जनाको उम्मेदवारी दर्ता गराएको हो।
दुवै उम्मेदवारलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादीले समर्थन गरेको छ। गठबन्धन आबद्ध दलहरूले संविधानमा फरक समुदाय वा लिंग भनिएकाले महिला आवश्यक नभएको तर्क गरिरहेका छन्।
रामसहाय प्रसाद यादव प्रतिनिधिसभा संसदीय दलका नेता हुन् भने प्रमिला यादव राष्ट्रियसभा सदस्य हुन्। उनीहरू दुवैजनाले शनिबार दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पालैपालो मनोनयन दर्ता गराएका हुन्।
रामसहायको प्रस्तावकमा जसपाका अशोक कुमार राई, प्रदीप यादव , नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादी पार्टीका किसान श्रेष्ठ र कांग्रेसका रमेशजंग रायमाझी रहेका छन्।
त्यसैगरी समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलला देवकोटा र भानुभक्त जोशी रहेका छन्। गठबन्धनमै आवद्ध जनमत पार्टीका तर्फबाट ममता झा पनि उम्मेदवार रहेकी छन्।
प्रमिलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशाेर साह, दीपक कार्की, राजकिशाेर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिष सुमन रहेका छन्।
निर्वाचन आयोगले पुरुष उम्मेदवारको मनोनयन खारेज गर्नसक्ने आशंकाले जसपाले महिला उम्मेदवार प्रमिला यादवको पनि मनोनयन दर्ता गराएको सहजै बुझ्न सकिन्छ।
त्यस्तै, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उमेदवारी दर्ता गराइसकेकी छन्।
बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ। यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।
यस्तै, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे तोकिएको छ। त्यही दिन १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने र ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यक्रम तय भएको छ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भइसकेका छन्। उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ। उपराष्ट्र्पतिको निवार्चन चैत ३ गते हुनेछ।