कपिलवस्तुका ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिए

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट गत आर्थिक बर्ष सम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा गएका छन। सामी/हेल्भेटास नेपालले सो तथ्यांक दिएको हो।कतार मलेसिया, साउदी अरब लगायतका देशमा बैदेशिक रोजागारीका लागि गएका हुन।

हेल्भेटासका कार्यक्रम संयोजक सनत प्रसाद सापकोटाले नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख नाघेको बताए। त्यसैगरी लुम्बिनी प्रदेश भरिबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाख ६० हजार ७ सय ८५ जना छन।

त्यसैगरी गत आर्थिक बर्ष २०७८/७९ मा बैदेशिक रोजगारीका लागि श्रम स्वीकृती र पुनः श्रम स्वीकृती लिई जानेको संख्या ६ लाख ३० हजार ९० रहेको छन । जसमा महिलाको संख्या ४९ हजार १ सय २८ (८ प्रतिशत) रहेको जनाईएको छ ।गत आर्थिक वर्षमा श्रम स्वीकृती लिएर बिदेश जानेको संख्या हाल सम्मकै बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ४३ र अंगभंग हुने १ सय ४३ जना थिए । सोही आर्थिक वर्षमा कपिलवस्तुबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका २२ जनाको शव नेपाल आएको बैदेशिक रोजगार बोर्डको तथ्याक छ।

वैदेशिक रोजगारको अवस्था, अवसर, चुनौती र समाजमा प्रभाव परेको सापकोटाले बताए। सापकोटाले वैदेशिक रोजगारीमा जाने श्रमिक मात्रै नभई उनका परिवार र समाजलाई नै बिभिन्न चुनौती सामना गर्नु परेको बताए। सामी कार्यक्रम काठमाडौ सहित ३८ जिल्लाका १ सय ५६ स्थानीय सरकारको अगुवाईमा सञ्चालनमा रहेको हेल्भेटासका प्रदेश संयोजक पञ्चराम चौधरीले बताए।

स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा १५ जिल्लाको ६० स्थानीय तहमा र २३ जिल्लाको ९६ स्थानीय तहमा नेपाल सरकारको सशर्त बजेटबाट सामी कार्यक्रम सञ्चालनमा रहको उनले बताए।  -नागरिक अनलाईन

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation