
अर्घाखाँची । नेपालमा कति मठमन्दिर छन् र ती मन्दिरमा चढेको नगद तथा जिन्सी कहाँ कसरी खर्च हुन्छ र कति बचत हुन्छ भन्ने तथ्याङ्क निकाल्न कठिन छ । देशका हजारौँ मठ मन्दिरमध्यको एक अर्घाखाँचीको सुपा देउराली मन्दिर भने आम्दानी खर्चको पारदर्शितामा नमुना बनेको छ ।
अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरमा चढाएको भेटीबाट दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब खुवाइन्छ । मन्दिरमा चढाएको भेटीबाट मासिक एक लाख पचास हजार रकम आदर्श मावि खाँचीकोटका ६ जना र शान्ति आधारभूत विद्यालय सीतापुरमा ३ जना शिक्षकलाई तलब खुवाउन प्रयोग गरिँदै आइएको हो । यी विद्यालयको चार चार कोठे भवन पनि मन्दिरको भेटीबाट निर्माण गरिएको छ । मन्दिरकै भेटीले तीन वर्षे अवधिमा खाँचीकोट मन्दिर, विद्यालयमा शौचालय तथा गाउँको विद्युतीकरणमा दुई करोड खर्च गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सुपा देउरालीमा वार्षिक एक करोड ५० लाखजति भेटी सङ्कलन हुन्छ । मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री र शिक्षकलाई तलब गरी वार्षिक ५५ लाख खर्च हुन्छ । विकास निर्माणका काममा खर्चेर बााकी रहेको एक करोड ४० लाख रुपैयाँ बैंकमा बचत छ । मन्दिरको आम्दानीले आफ्नै गाउँमा विद्यालय सञ्चालन हुँदा खाँचीकोट र सीतापुरबासी खुसी छन् ।
गोरुसिङ्गे(सन्धिखर्क सडकअन्तर्गत सन्धिखर्क नगरपालिकाको खाँचीकोट र शीतगङ्गा नगरपालिकाको सितापुरबीचमा पर्ने सुपादेउराली मन्दिरमा दर्शनार्थीले चढाएको भेटी पारदर्शी रूपमा सङ्कलन गरी शिक्षा तथा समाज सेवाका साथै विकास निर्माणका काममा खर्च गरिनु प्रशंसानीयमात्र होइन उदाहरणीय काम हो ।