मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार मात्रिका पौडेललाई दिने निर्णय

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ। क्लबको पुरस्कार छनौट समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
रिपोर्टर्स क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार क्लबको यही चैत्र १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा मनाईने २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। पौडेल विगत लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।
पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै आएका पौडेलले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर पत्रकार पौडेलले चीन, अमेरिका, जापान, कोरिया, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, जर्मन, मलेसिया, हङकङ र भारतको भ्रमण गरिसकेका छन् ।
पत्रकार पौडेलले सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यपनि हुन् । संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल हाल सो संस्थाका सल्लाहकार हुन् । पौडेलले २०५४ साल बैशाख ४ गतेबाट पत्रकारिता सुरु गरेका हुन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation