
सैनामैना । रुपन्देहीको सैनामैनामा क्यान्सर सम्बन्धी सचेतना तथा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । पर्रोहा बचत तथा ऋण सहकारी लिमिटेडसहित विभिन्न ६ वटा संस्थाले संयुक्त रुपमा क्यान्सर सम्बन्धी सचेतना एवं निःशुल्क परीक्षण शिविर आयोजना गरेका हुन् ।
शिविर आयोजना गर्ने अन्य संस्थाहरुमा नेपाल क्यान्सर सहयोग समूह, सैनामैना नगरपालिका, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लव अफ बुटवल र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर रहेका छन् । शिविरको उदघाटन नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराईले गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै उहाँले क्यान्सर सम्बन्धी सचेतना जगाएर समयमै रोग पहिल्याउन सकियो भने धेरै हदसम्म रोग निको पार्न सकिने बताउँदै रोग लाग्नै नदिनका लागि पनि यसबारेको सचेतना अपरिहार्य रहेको बताउनुभयो ।कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले सामाजिक संघ संस्थाको सहयोगबाट नै समृद्ध नगर निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा सचेतनाका लागि पालिका समेत अग्रसर रहेको बताउँदै सामाजिक संस्थाको पनि सहयोग आवश्यकता रहने औल्याउनुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले क्लवले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्ने प्रतिवद्धता जनाउँदै स्वास्थ्यको क्षेत्रमा क्लवले निरन्तर सचेतनामूलक कार्यक्रमदेखि लिएर अस्पतालहरुमा उपकरणहरु सहयोग गर्दै आएको बताउनुभयो । रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्रीले क्यान्सर सम्बन्धी सचेतना शिविरले सर्वसाधारणलाई यसबाट जोगिने उपायका बारेमा जानकारी हुने भन्दै समय समयमा यस्ता शिविर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
शिविरमा निःशुल्क क्यान्सर परीक्षणका लागि ८ जना चिकित्सकको टोली खटिएको थियो । शिविरमा विशेषगरी महिलामा हुने स्तन क्यान्सर र पाठेघर सम्बन्धी क्यान्सर परीक्षणलाई मुख्य प्राथमिकता दिइएको थियो । शिविरमा करिव करिव ५ सय जना सहभागी भएको पर्रोहा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा शिक्षा उप समितिका संयोजक उषा गौतम रिजालले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष खगिमाया भुजेलको स्वागत तथा सचिव विष्णु प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल क्यान्सर सहयोग समुहका महासचिव गणेश भक्त, डा।सुदिप श्रेष्ठ, डा।यशोदा पोखरेल, डा.कन्चन रोमी लगायतले क्यान्सर रोगबार जानकारी गराउनुभएको थियो ।