
काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले पहिलो जित हात पारेको छ । पन्जाबले घरेलु मैदान मोहालीमा कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गरेको हो ।
१६ ओभर सकिदा भारी बर्षा भएपछि खेलको निर्णय डीएल मेथडबाट भएको हो । पन्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरिरहेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा भारी बर्षाका कारण खेल रोकिएको थियो ।
निरन्तर भारी बर्षा भएपछि डीएल मेथडमा पन्जाब किंग्स ७ रनले विजयी भएको हो ।कोलकत्ताका लागि आन्द्र रसेलले १९ बलमा सर्वाधिक ३५ रन बनाउँदा इम्प्याक्ट खेलाडीका रुपमा बरुण चक्रवर्तीको स्थानमा ब्याटिङमा आएका वेंकटेस अय्यरले ३४ रन बनाए ।
कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए । पन्जाबका लागि अर्शदिप सिंहले ३ तथा राहुल चहर,नाथन एलिस,सिकन्दर राजा र साम करनले समान १र१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
पन्जाबका लागि भानुका राजपाक्षेले ३२ बलमा ५ चौका र २ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाउँदा साम करनले १७ बलमा अविजित २६ रन बनाए ।
जितेश शर्माले ११ बलमा २१ रन बनाउँदा सिकन्दर राजाले १३ बलमा १६ रन बनाए । राजाले यस खेलबाट नै आईपीएल डेब्यु गरेका थिए । आईपीएलमा सहभागी रहने उनी चौथो जिम्बावेका खेलाडी हुन् ।
पहिलो खेलमा जित हात पारेको पन्जाब २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलकत्ता अंक बिहिन रुपमा चौथो स्थानमा रहेको छ ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।