
रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ।
संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा शनिवार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय समिति पुनर्गठन गरिएको हो।
संगठनको उपाध्यक्षमा शंकर पाण्डेय रूपन्देही, महिला उपाध्यक्षमा प्रतिज्ञा बुढा मगर रोल्पा, सचिवमा दीपक अनुरागी कपिलवस्तु, कोषाध्यक्ष प्रकाश न्यौपाने रूपन्देही, सहसचिव पदम गैरै सर्वसम्मत चयन भएका छन्।
यस्तै सदस्यहरूमा लोकनाथ शर्मा,मनोज क्षेत्री, एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्यलगायत चयन भएका छन्। लुम्बिनी प्रदेश समितिमा जिल्ला अध्यक्षहरू पदेन रहने व्यवस्था छ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले नेपालको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिताका पक्षमा उभिने बताए। समाजवादी प्रेस संगठन आलोचनात्मक चेत भएका पत्रकारहरूको संगठन भएको उनले बताए।
उनले पत्रकारहरूले जहिल्यै पनि खराब पात्र र प्रवृत्तिको विरोध गर्नुपर्ने, समाजका हरेक विषयलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउँदै संगठनमा लागेकाहरूले सोहीअनुसार पत्रकारितामा आफूलाई निखार्न आग्रह पनि गरे।
संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले लुम्बिनी प्रदेश कमिटीले नयाँ ऊर्जाका साथ व्यावसायिक पत्रकारहरूको संगठन बनाउने गरी काम गर्न आग्रह गरेका थिए भने उपमहासचिव रामकुमार एलनले संगठन मजबुत बनाउने गरी देशव्यापी रूपमा अभियानमा खटिएको बताउँदै संगठनमा संख्याभन्दा पनि पत्रकारितामा गुणस्तर कायम गर्ने गरी काम गर्न आग्रह गरे।
बैठकले ०७९ वैशाख २० गतेसम्म बाँकी रहेका जिल्ला शाखा गठन गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष विनोद परियारले जानकारी दिए ।