
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक निति तथा कार्यक्रम अन्तर्गत सोमबार ल्यापटप वितरण गरिएको हो ।
३९ जना शिक्षकहरुमध्ये सोमबार ३२ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए । अन्य बाँकी ७ जना शिक्षकहरुलाई अन्य कार्यक्रमका बीच ल्यापट वितरण गरिने बताउँदै उनले भने, ‘५० प्रतिशत नगरको र ५० प्रतिशत स्वयम् शिक्षकको लागतमा “एक शिक्षक एक ल्यापट” कार्यक्रम अनुरुप ल्यापट वितरण गरियो ।’
कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापमा सुधार गर्न यस कार्यक्रमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उले विश्वास व्यक्त गरे । नगरप्रमुख केशव कुमार श्रेष्ठले शिक्षकलाई प्रविधिमैत्री बनाउन “एक शिक्षक एक ल्यापट” कार्यक्रम फलदायी भईरहेको बताए । शिक्षा क्षेत्रको विकासले मात्र समाज सकारात्मक दिशातर्फ उन्मुख हुने भएकाले शिक्षालाई समयानुकुल बनाउनुपर्नेमा उनले जोड दिए । शिक्षामा सबैको पहुँच भन्ने नारालाई पुरा गर्न नगर प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘शिक्षामा सरकारले ठूलो लगानी गरेको छ । नगरले पनि प्राथमिकताका साथ हेरेको छ ।’
उनले विगतका बर्षदेखि नै शिक्षामा गुणस्तरियता कायम गर्न नगरले यस्ता कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाए ।
बुद्धभूमि नगरपालिकाले हरेक बर्ष विद्यालय, शिक्षकसंगै विधार्थीलाई आवश्यक सामग्री वितरण गर्दै आएको छ ।