
कपिलवस्तु । कपिलवस्तुमा सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रा कपिलवस्तु २०२३’ हुने भएको छ । कपिलवस्तु कला केन्द्रले गर्न लागेको उक्त प्रतियोगितात्मक कार्यक्रमबारे आज विहिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । यस क्षेत्रको कला, सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक विजय सारु मगरले बताए ।
उनका अनुसार अडिसन यही चैत्र २८ गतेदेखि सुरु हुदैं छ । बाणगंगा ६ मा रहेको मधौलिया पार्क (लभ पार्क) मा पहिलो अडिसन र मायादेवी रिसोर्ट बैरियामा दोस्रो अडिसन हुने उनले जानकारी दिए । उनका अनुसार अडिसन आगामी वैशाख ८ गतेसम्म चल्ने छ । कार्यक्रमको व्यवस्थापन ‘ग्रो मोर ईभन्ट बुटवल’ ले गर्ने छ । उक्त कार्यक्रममा ८ बर्षमाथिका बालबालिकादेखि २९ बर्षसम्मका अविवाहित युवायुवतीले सहभागिता जनाउन सक्ने छन् ।
अडिसनका लागी कपिलवस्तु कला केन्द्रमा सम्पर्क गर्नुपर्ने जनाईएको छ । अडिसनमा विशेषतः सहभागिको बौद्धिकता, बोल्ने शैली, उसको प्रस्तुति लगायतका पक्षलाई ध्यान दिईने आयोजकले जनाएको छ । यस कार्यक्रमले सहभागिको व्यक्तित्व विकाससंगै आत्मविश्वास, तार्किक क्षमता, वाककला, अतिरित्त क्रियाकलापमा सक्रियता लगायतका पक्षको विकासमा महत्वपुर्ण भूमिका खेल्ने आयोजकले जानकारी दिएको छ । यस प्रतियोगितात्मक कार्यक्रममा कपिलवस्तु जिल्ला भित्रका बालबालिका तथा युवायुवतीहरुले मात्र सहभागिता जनाउन सक्ने छन् ।
प्रतियोगितको विभिन्न राउण्डमा जजका रुपमा बुटवलदेखि काठमाडौं, पोखरासम्मका चर्चित कोरियोग्राफर तथा फेसन डिजाईनरहरु आउने छन् । आयोजकका अनुसार प्रतियोगिता उपाधि हात पार्नेले नगदसहित विभिन्न म्युजिक भिडियोदेखि सर्ट मुभि खेल्ने अवसर प्राप्त गर्ने छन् । यस्तै फस्ट रनरप र सेकेन्ड रनर अपलाई समेत पुरस्कार प्रदान गरिने छ ।