
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताएका छन् । पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ ।
एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई स्वार्थका लागि विवाद नगर्न पनि भनेका छन् । ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि, स्वार्थका लागि यसो ग्रुप बनाएझैं, खेल्न खोजे झैं, त्यस्तो खालको नगर्नुहोला,’ उनले भने, ‘एकछिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’
ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढि बलियो, व्यापक र अग्लो रहेको पनि बताए । पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको उनको भनाई थियो ।
‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँ भन्ने गरेको छु–आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर महिलाहरूले छेकेका छन् । अनमेसंघ र अरु संगठनहरू सक्रिय छन् । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदीबहिनीहरूको योगदान यथार्थमा भन्ने हो भने आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर, फेरी एउटा देशका प्रमुख पार्टीको हैसियतमा तुरुन्त जस्ताको तस्तै उभिन, शरिरभरी घाउ, निलडाम होलान् तर एमाले फेरि पनि जुरुक्क उठेको छ,’ ओलीले भने, ‘अरुभन्दा अलि बलियो, अरुभन्दा अघि व्यापक, अरु भन्दा अघि अग्लो त्यस रुपमा एमाले उभिएको छ । यसमा महिलाहरूको निष्ठाले काम गरेको छ ।’
अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताए । उनले पार्टीको उद्देश्य प्राप्त हुने गरी महिला संगठन चलायमान हुनुपर्ने बताए ।