लुम्बिनीका ४३ सहित देशभर २ सय ४१ स्थानका वनमा डढेलो

बुटवल  । गर्मी सुरु भएसँगै वनमा डढेलो लाग्ने क्रम पनि बढेको छ । डढेलोबाट चुरे क्षेत्रका वन बढी प्रभावित भएका छन् । वन तथा भू–संरक्षण विभागको वन डढेको पहिचान तथा अनुगमन प्रणालीको तथ्यांक अनुसार देशभर २ सय ४१ स्थानका वनमा डढेलो लागेको छ ।

लुम्बिनी प्रदेशमा मात्रै एक सातायता ४३ स्थानका वनमा डढेको लागेको छ । रुपन्देहीबाट देखिने चुरे क्षेत्रका वनमा अहिले डढेलोको धुवाँ र मुस्लो देखन्छि ।

वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकले लुम्बिनी प्रदेशको दाङ जिल्लामा सबैभन्दा बढी १४ स्थानमा डढेलो लागेको देखाएको छ । डढेलो अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी फैलिएको छ । गत वर्ष यसै अवधिमा देशभरमा १५ र लुम्बिनीका तीन ठाउँमा मात्रै डढेलो लागेको थियो । वन डढेको पहिचान तथा अनुगमन प्रणालीले लुम्बिनी प्रदेशलाई डढेलोको उच्च जोखिममा राखेको छ ।

डढेलो निवारणका लागि चेतनामूलक कार्यक्रम गरे पनि केही व्यक्तिको असावधानी र त्रुटिले डढेलो फैलएिको वन पदाधिकारीहरु बताउँछन् । चैत महिनामा मात्रै वन कार्यालय र सामुदायिक वनहरुले देशव्यापी रुपमा डढेलो विरुद्धका जनचेतनामूलक कार्यक्रम गरेका थिए । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले वन सफा गर्ने निहुँमा आगो लगाउने केही व्यक्तिको असावधानी र तत्काल निभाउने जनशक्ति र उपकरण अभावले डढेलो फैलिएको बताए ।

क्षति रोक्न डढेलो नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी र सम्बन्धित जिल्लाका डिभिजन कार्यालयहरुलाई खटाइएको पनि उनले बताए ।

सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक करिब २ हजार वनमा डढेलो लाग्ने गरेको छ । खरबारीमा घाँस उमार्ने, पातपतिंगर हटाउने लगायत बहानामा आगो लगाउँदा त्यो क्रम बढ्दै गएको पाइन्छ । वन अभियन्ता डिआर घिमिरेले जैवीक विविधता बचाउन वनमा आगो लगाउनेको पहिचान र तत्काल आगो निभाउने परिपाटीको विकास गर्नुपर्ने बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation