प्रकास सपुतको ‘सकम्बरी’ को समिक्षा

साया किरण ।
प्रकाश सपुतले बजारमा ल्याउने गीतहरु अरुभन्दा फरक तरिकाका हुन्छन् तर त्यसको भाव फरक हुँदैन । सस्तो लोकप्रियताको लागि उनी बजार र मान्छेको मनोभावना बुझेर कारुणिक लाग्ने, राम्रो बजार खाने गीत निकाल्छन् ।

महिलाहरुले लगाउने सामान्य झुम्कादेखि डायमण्ड र चढ्ने स्कुटरसम्म कसले किन्दियो ? भनेर प्रश्न गर्दैगर्दा महिलाहरुको स्वाभिमान र आत्मसम्मानमा ठेस पुगेको छ अर्थात् महिलालाई परनिर्भर देखाइएको छ । अर्को विषय, एकाध महिलाहरु छन्, जो यौन व्यापार गरिरहेका छन् तर यसको अर्थ यो होइन कि महिलाहरु देह व्यापार गरेपछि मात्र कलाकारिता क्षेत्रमा राम्रो गर्न सक्छन् ।

रातीमा कामको विषयमा ः रातीमा काम गर्ने भनेको देह व्यापार गर्नु मात्र हो भन्ने भाष्य गीतमा प्रस्तुत छ तर राती अबेरसम्म काम हुने डाक्टर, नर्स, व्यापार गर्ने, राजनीति गर्नेलगायत जुनसुकै पेशा र काम होस् वा रातीमा आफ्नो इच्छाले पनि हिड्न पाइयो तर रातीमा गर्ने भनेको देह व्यापार हो भनेर देखाउनुले समाजमा कस्तो प्रभाव पार्छ ?

अर्को गम्भीर विषय छ, जब सकम्बरी एकबाट अर्को पुरुषसम्म पुगेको दृश्य छ र महिलाले उनलाई थुकेकी छिन्, प्रकाश सपुत हासिरहेका छन् । यसले के बुझाउछ ? सबैभन्दा पहिले सकम्बरीको शोषण गर्ने पनि उनै, लडेको वेला उठाएर उनलाई इज्जतको ख्याल नगरेको भन्दै थप्पड लगाउने पनि उनै अर्थात् आफ्नो फाइदाको लागि उपभोग गरेर हुत्त्याउने चरित्र उदाङ्गो पारेका छन् । जसले शोषण गर्यो उसले नै महिलाको इज्जत गरेको भन्दै औंला उठाउँछ । यौन शोषण गर्ने जेलमा हुने कि, शोषणमा परेको महिलामाथि अनावश्यक प्रश्न गर्ने ? उत्पीडित महिलाको विषयमा मात्र खेद गरिरहेका तर उत्पिडकको विषयमा केही लेखिएकोरबोलिएको छैन ।

पितृसत्ताको रक्षकको रुपमा रहेका प्रकाश सपुतजस्ता हज्जारौं प्रकाश सपुतहरु छन्, जो जनताको भावनालाई बुझेर खेलीखेली लोकप्रियता बटुल्नमा उद्धत छन् । महिलाहरु नै यो गीतमा सबैभन्दा बढि अभिनय गरिरहेका छन् । टेन्डिङ्गमै छ गीत ।

पितृसत्तालाई अझै निर्मम बनाउने र प्रश्रय दिने सवालमा महिलाको सहभागिता पुरुषभन्दा बढी देखिन्छ । किनभने, पितृसत्तात्मक समाजको विशेषता नै यही हो की महिलाको प्रमुख कर्तव्य भनेको पितृसत्ताको पुस्ता हस्तान्तरण गर्नु भन्ने बुझाइ छ ।

महिलावादी भनिनेदेखि आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरुले समेत गीतले समाजको यथार्थ चित्र देखाएको भन्दै प्रोत्साहन गरिरहेका छन् । यस्तो कलाकारिताले समाजलाई कुन दिशा दिने ? महिलाप्रतिको पछिल्लो पुस्ताको दृष्टिकोण कस्तो हुने ?

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation