
कपिलवस्तु । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले अबका मेला महोत्सवमा बाहिरका पिङ नभएर स्थानीय लिङ्गे र काठे पिङ सञ्चालनमा ल्याउनु पर्ने बताउनु भएको छ । आज कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा आयोजित नव वर्ष २०८० को शुभकामना आदान प्रदान, भित्ते पात्रो विमोचन, १३ औँ कपिलवस्तु महोत्सवको प्रगति विवरण सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
स्थानिय उत्पादन, ब्यापार, कला संस्कृतिलाई प्राथमिकता दिने भन्दै नारा लगाउने तर महोत्सवको समयमा भने स्थानियलाई छाडेर बाहिरका उत्पादन, व्यापार, कलाकारलाई प्राथमिकता दिनु अव्यावाहारिक रहेको बताउनु भएको छ । सबै बाहिरकै ल्याएपछि कसरी स्थानिय उत्पादनको प्रवद्र्धन हुन्छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर बस्नेतले यहाँका उद्योगी व्यवासायीले कपिलवस्तुको मात्र नभएर सिङ्ग्गो देशको अर्थतन्त्रलाई उकास्नको लागि महत्वुर्ण भुमिका खेल्ने बताउनु भएको छ । कपिलवस्तु जिल्लामा ९३ किलोमिटर सिमा भारत सङ्ग जोडिएको अवगत गराउँदै सिमा नाकामा हुने चोरी तस्करीमा उद्योगी व्यवसायी नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिने भएकाले त्यस तर्फ व्यवसायीहरु सचेत हुन जरुरी रहेको बताउनु भएको छ ।
त्यस्तै नव बर्स २०८० को शुभकामना दिदै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले देशको आर्थिक अवस्थालाई बलियो बनाउनको लागि निजि क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ । यस क्षेत्रको आर्थिक अवस्था सुधार गर्नको लागि कपिलवस्तु उद्योग वाणिज्य संघको महत्तवपूर्ण भुमिका रहेकोले उत्पादन र रोजगारका क्षेत्र बढाउनको लागि महत्वपुर्ण कार्य गर्दै जानेमा उहाँले विश्वास व्यक्त गनुभएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले आफुहरुले सञ्चालन गरेको महोत्सवले कपिलवस्तुको अर्थ बजारलाई चलायमान गराउन केहि भएपनि सहयोग गरेको जिकिर गर्नुभएको छ ।