चीनलाई पछि पार्दै भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश

काठमाण्डाै । भारत विश्वको सबैभन्दा बढी जनसंख्ष्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो ।

यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको छ । यूएनएफपीएको द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख र चीनको जनसंख्या एक अर्ब ४२ करोड  ५७ लाख रहेको उल्लेख छ ।

सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ ।

चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष रहेको यूएनएफपीएलाई उद्धृत गर्दै समाचारसंस्था पीटीआइले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation