बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु

रूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ ।

शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको शुरुवात गरेको हो ।

‘ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्ध जन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने बताए ।

 

कोषले नियमित रुपमा सफाई गर्दै आएपनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्म फाहोर चुनौतीपूर्ण बनेको छ । शनिबार कोषका पदाधिकारी र कर्मचारीहरु हातमा कुचो बोकेर उक्त फोहर डम्पिङ साईट जस्तै बनेको क्षेत्रमा सफाई गरेका छन् ।

यसअघि पटकपटक फोहर नफाल्न आग्रह गरिए पनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैले सरसफाई अभियान सुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्य सचिव शाक्यले बताए ।

‘पवित्र स्थलमा फोहोर फाल्दा त्यसले राम्रो सन्देश दिंदैन’ सदस्य सचिव शाक्यले भने –‘फोहोर व्यवस्थापन गर्नुपर्छ, तर रातीमा लुकीलुकी कोषको कम्पाउण्डमा फोहोर नफाल्न आग्रह गर्दछौं ।’ लुम्बिनीमा नियमित रुपमा नै सफाई अभियान चलिरहेको तर अभियानले सबैलाई सक्रिय बनाउने उनले बताए ।

लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले ५ नम्बर गेट अगाडि फोहोरका विषयमा पटकपटक छलफल भए पनि यसको दीगो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation