
कपिलवस्तु । नेपाली सेनाले प्राचीन कपिलवस्तु (तिलौराकोट)को सरसफाइ सुरु गरेको छ । गोरुसिंगेस्थित शम्सेर दल गणका क्याप्टेन अमृत गुरुङ नेतृत्वमा ५० जना सेनाको टोलीले आइतबारदेखि तिलौराकोटका झाडी, घाँसपात र स-साना बुट्यान सफा गरिरहेको छ । सरसफाइका लागि आवश्यक सामग्री मास्क, ग्लोब्स, हँसिया, खुँडा, बन्चरो र कुचो लुम्बिनी विकास कोषले प्रदान गरेको छ ।
दक्षिण पश्चिमबाट थालिएको सरसफाइ क्रमशः पूर्वतिर गर्दै जाने बताइएको छ । त्यसपछि उत्तरपूर्वी क्षेत्रबाट पश्चिमतिर सरसफाइ गरिनेछ । नजिकिँदै गरेको बुद्धजयन्तीमा तिलौराकोटलाई सफा र मनमोहक बनाएर गर्न कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले सेनासँग समन्वय अभियान चलाएको बताए । ‘सरसफाइ पछि पनि राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको स्थल तिलौराकोट प्रिजेन्टेवल बनाइराख्न यो अभियानले सहयोग गर्छ,’ उनले भने, ‘यसपछि कोषले यसलाई निरन्तरता दिन्छ ।’
करिब ३५ बिघा क्षेत्रमा फैलिएको तिलौराकोटमा झाडी, घाँसपात रहेको क्षेत्र करिब २० बिघा सफा गरिनेछ ।
मुलुकको सम्पदा जीवन्त बनाइराख्न आफूहरुले योगदान गरेको शम्सेर दल गणका गणपति कर्णेल दिलीप घलेले बताए । ‘सफाइले यस क्षेत्रको पर्यटकीय आकर्षण बढ्छ,’ उनले भने, ‘स्थानीयको आयआर्जन र रोजगारी बढ्छ ।’
वैशाख २२ गते लुम्बिनीमा २५६७ औं बुद्धजयन्ती मनाइँदैछ । वैशाख २३ गते यहाँ लुम्बिनीबाट बेबी बुद्धको प्रतिमा ल्याएर प्रसूति उत्सव कार्यक्रम गरिने जनाइएको छ ।