सरकार गठनका लागि लुम्बिनीमा कांग्रेसद्वारा दावी पेस

बुटवल। नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीवहादुर चौधरीले नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको हो । गठबन्धनले कांग्रेस संसदीय दलका नेता चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसहितको समर्थनमा दाबी पेश गर्नुभयो ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा (एमाले) बाट मुख्यमन्त्री बन्नुभएका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन हुन लागेको हो ।

लुम्विनी प्रदेशका प्रदेश प्रमुख शेरचनले संविधानको धारा  १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि मंगलवार दलहरुलाई आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालय बुटवलले सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते बिहीबार अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation