
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड–१३ मा आज शुक्रवार देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युवालाई खेलकुदको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ शितगंगा १४ मा अवस्थित श्री प्रभाकार माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा नगर उप–प्रमुख गिता भाटले वडामा मात्र नभएर सिङ्गो शितगंगाका युवालाई खेलकुदको क्षेत्रमा अघि बढाउन नगर प्रतिबद्ध रहेको बताउनु भएको छ । भलिबल खेललाई राष्ट्रिय खेल बनाएपनि यसको उचित प्रवद्र्धन भने हुन नसकेको समयमा वडाले प्रतियोगित आयोजना गर्नु प्रशंसा योग्य कार्य रहेको उहाँले बताउनु भएको छ । उद्घाटन कार्यक्रममा उपप्रमुख भाटले अफिसियललाई भलिबल दिएर खेलको उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगिताको पहिलो दिन आज ४ वटा खेल सम्पन्न भएका छन । जस मध्ये झिर्रा युवा क्लब र रजिया युवा क्लब बिचको खेलमा झिर्रा युवा क्लब विजयी भएको छ । त्यस्तै दोस्रो खेलमा आयोजक शितगंगा नगरपालिका वडा नम्बर १३ र डोडुवा युवा क्लब बिचको खेलमा आयोजक टिमले जित दर्ता गराएको छ । त्यस्तै सितापुर युवा क्लब र एभरेष्ट टच युवा क्लब बिचको खेलमा सितापुर युवा क्लबले विजयी हासिल गरेको छ, भने शितगंगा वडा नम्बर ६ र मुन्द्रीवास युवा क्लब बिचको खेलमा भने वडा नम्बर ६ ले जित हात पारेको छ ।