कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा अब बेलुका ६ देखि ८ बजे भन्दा अघिपछि मादक पदार्थ सेवन तथा किनबेच गर्न नपाइने भएको छ । आज वडाको सभाहलमा युवाहरु र वडा अध्यक्ष बिच भएको अन्तरक्रिया कार्यक्रममा वडालाई शान्त र सभ्य बनाउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको वडाले जनाएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुर्गा बहादुर वि.सी ले अब वडा भित्र सञ्चालन भएका सम्पुर्ण पसलहरुलाई टाइम कार्ड प्रदान गर्ने र उक्त समय भन्दा अघिपछि मादक पदार्थ किनबेच भएको पाए बेच्ने पसल, किन्ने तथा सेवन गर्ने व्यक्ति सबैलाई कारबाही गरिने चेतावनी समेत दिनुभएको छ । मेहनत गरेर परिवार र देशको लागि केहि योगदान गर्ने समयमा वडाका युवाहरु मादक पदार्थको लतमा नपरुन भन्ने उद्देश्यले पनि यस्तो निर्णय लिनुपरेको उहाँले बताउनु भएको छ ।
त्यस्तै उहाँले वडामा औद्योगिक ग्राम निर्माण हुने भएकाले वडा भित्र रहेका युवाहरुलाई आफु सङ्ग भएको सिप र क्षमताको आधारमा कामको माग गर्न पनि आग्रह गर्नुभएको छ । युवाहरुको जोस र जाँगर समाज परिवर्तनको लागि महत्वपुर्ण हुने भएकाले वडाले युवा मैत्री योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता समेत गर्नुभएको छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममै सिमलपानी मिडिया तथा फस्ट पार्टीका पदाधिकारी पनि चुनिएका छन । जसको अध्यक्षमा बामदेव वि.सी, उपाध्यक्षमा नारायण पौडेल, सचिवमा दिपक भट्टराई, कोषध्यक्षमा प्रभाकर वि.सी, सदस्यहरुमा केशव रेस्मी, विकास वि.सी, नविन वि.सी, बाबुराम वि.सी, गणेस वि.सी चयन हुनुभएको छ । त्यस्तै सल्लाहकार संयोजकमा कुसल दिप क्षेत्री, सदस्यहरुमा चुमान ललामी, अनिता क्षेत्री, चेतन विष्ट, अर्जुन वि.सी, दोलक वि.सी र जिवन शक्ती वि.सी रहनुभएको छ ।
वडा अध्यक्ष दुर्गा बहादुर वि.सी को अध्यक्षता, वडा सदस्यहरु टान बहादुर वि.सी, बाबुराम वि.सी, तुल्सा वि.सी को आतिथ्यता, सुरक्षाकर्मी लगायत वडाका करिब २० युवाहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने वडा सचिव रामु आचार्यको सञ्चालनमा सम्पन्न भएको प्रभाकर क्षेत्रीले बताउनु भएको छ ।