उड्डयन प्राधिकरणविरूद्ध अदालत गएको बालेनको रिट खारेज, अब के हुन्छ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नागरिक उड्डयन प्राधिकरणविरूद्ध हालेको रिट खारेज भएको छ। काठमाडौंको सिनामंगलस्थित प्राधिकरणको भवन नक्सा पास नगरी बनाएको भन्दै महानगरपालिकाले गत जेठमा काम रोकेको थियो। त्यस क्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो।

महानगरले बलजफ्ती गरेको भन्दै प्राधिकरणले महानगर प्रमुख बालेनलाई स्पष्टीकरण सोधेको थियो। प्रमुख बालेनले प्राधिकरणलाई स्पष्टीकरण नदिएर अदालतमा रिट दर्ता गराएका थिए। तर, अदालतले गत असार १२ गते सम्बन्धित रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेश जारी गरेको थियो।

आज भने उच्च अदालत पाटनले उनको रिट खारेज गरिदिएको छ। त्यससँगै प्रमुख बालेनले नागरिक उड्डयन प्राधिकरणमा स्पष्टीकरण दिनुपर्ने भएको छ।  स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को व्यवस्थाअनुसार ५० हजार रूपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation