उपकार अनलाईन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधवार तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा बुधवार क्याम्पस प्रांगणमा प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले तीजको दर खाने नाममा महिना दिन अघिदेखि चेलीबेटीहरु ब्यस्त भैरहेको भन्दै अब दरसंगै महिलाहरुको समस्याका बिषयमा, उत्पीडनका बिषयमा र महिलाहरुको हक अधिकारका बिषयमा समेत बहस पैरवी गर्न र उनीहरुको अवस्थाका बिषयमा समेत सोधखोज गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख हेमबहादुर थापाले सहर बजार सवैतीरको बाताबरण तीजमय बन्दै गएको बेला स्वतन्त्र विद्यार्थी युनियनले तीज गीत सम्वन्धि प्रतियोगिता आयोजना गरेर विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्न सहयोग पुगेको बताउनुभयो ।
तीज गीत प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । जसमा सुशीला गौतमको समुह प्रथम । रोमा अधिकारीको समूह दोश्रो, स्वस्तिका घिमिरेको समुह तेश्रो र पुष्पा भट्टराईको समुह सान्तवना भएको छ । स्ववियू सभापति मनेज बेल्वासेको अध्यक्षता र सचिव शिब न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले दर खाएर नाचगान गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतीका साथ कार्यक्रमलाई रोचक बनाएका थिए ।