कपिलवस्तु । नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष प्रेम नारायाण भण्डारीले सहकारीको पुँजीलाई सदुपयोग गरेर शिक्षकको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभएको छ । सहकारीले शिक्षक क्षमतालाई वृद्धि गर्ने कार्यक्रम ल्याई शैक्षिक गुणस्तरलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
बिहिवार नवयुग शिक्षक पेशागत सहकारीको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय केहि सहकारीले शेयर सदस्यहरुको बचतलाई हिनामिना गर्दा सहकारी प्रति वितृष्ण बढेको भन्दै शिक्षकहरुको सहकारीमा त्यस्तो कदापी नहुने दाबी समेत गर्नुभयो ।
त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शिक्षकहरु समाजको अभिभावक रहेकोले शिक्षकहरुको सहकारीले पनि त्यस्तै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पङ्गेनीले नेपाल शिक्षक संघले यस सहकारी सङ्ग सहकार्य गर्न तयार रहेको भन्दै यो सहकारी नेपालकै नमुना सहकारी रहेको बताउनुभयो । सहकारीको भवन निर्माण गर्नको लागि पनि आफुहरुले पहल गरिरहेको भन्दै सहकारीक शेयर सदस्य बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल शिक्षक संघ केन्द्रिय सदस्य भगवती मल्ल, पुर्व केन्द्रिय सदस्य नेत्रलाल न्यौपाने लगायतले बोल्दै शिक्षक पेशागत सहकारीले लुम्बिनीका शिक्षकहरुलाई जोडेर प्रदेशमा छ्ट्टै छाप छोड्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीको आगामी निति तथा कार्यक्रम राख्दै सहकारीका अध्यक्ष गोविन्द पोख्रेलले सबैको चासोको रुपमा रहेको लुम्बिनी शिक्षक अस्पताल निर्माणको लागि सरोकारवाला पक्ष सङ्ग पहल गरिरहेको र त्यसलाई निरन्तरता दिने बताउनुभयो । त्यस्तै उहाँले सहकारीमा आबद्ध शेयर सदस्यहरू ठुलो क्षेत्र बाट रहेकोले भर्चुअल बैठक, छलफल, गोष्ठी र सेमिनारलालाई बढाउदै लैजाने बताउनुभयो । अध्यक्ष पोख्रेलले शिक्षकको क्षमतालाई सदुपयोग गर्दै विद्यार्थीको लागि आवस्यक विभिन्न किताबहरु तयार गरेर विद्यार्थीले थेग्न सक्ने शुल्क लिएर बजारीकरण गर्ने योजना रहेको बताउनुभयो ।
सहकारीको वार्षिक प्रगति प्रतिवेदन सचिव भरत न्यौपानेले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक जीवलाल पन्थीले, आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, सहकारीका शेयर सदस्य, शिक्षक संघका जिल्ला, नगर प्रतिनिधि लगायत १ सय बढि शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, उपाध्यक्ष बाबुराम घिमिरेको स्वागत तथा सचिव भरत न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।