नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने

भैरहवा । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ गर्ने भएको छ ।

सोही शिखर सम्मेलनमा सहभागिता जनाउन नौ जना नोबेल शान्ति पुरस्कार विजेता सहित लुम्बिनी आउन लागेका हुन् । सन् १८९५ मा स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापना भएको बाह्र लाख अमेरिकी डलर पुरस्कार राशिको नोबेल शान्ति पुरस्कार विश्वको सर्वाधिक ठुलो राशिको पुरस्कार मानिन्छ । साहित्य, शान्ति, भौतिक, रसायन, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरूलाई प्रदान गरिने नोबेल पुरस्कार विश्वकै सम्मानित मानिन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यति ठुलो महत्वको पुरस्कारका विजेता नौ जनालाई एकैपटक विश्वशान्ति स्थल लुम्बिनीमा ल्याएर शिखर सम्मेलनमार्फत बालहिंसा, बालश्रम, बालविवाह, बालबालिकाको बेचबिखनको अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिने बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिखर सम्मेलनमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी सहित जोजे रामोस ओर्टा, अब्देसतार वेन मौसा, विदेद बुसामावुई, लेह्म बोवी, जोडी विलियम्स, टवाको कम्र्यान, रिचार्ड रोबट्र्स र एरी वार्सल सहभागी हुने जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नीराजन घिमिरेका अनुसार शिखर सम्मेलनमा सहभागी हुने रिचार्ड रोबट्र्स चिकित्सा विज्ञान र एरी वार्सल रसायन शास्त्रको क्षेत्रका नोबेल पुरस्कार विजेता हुन् भने अन्य सातैजना नोबेल शान्ति पुरस्कार विजेता हुन् ।

शिखर सम्मेलनमा नौ जना नोबेल शान्ति पुरस्कार विजेतासँगै बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार लगायत २० जना बढी विदेशी विशिष्ट व्यक्ति र सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारी गरी नेपालका २०० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहने छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरू, बालबालिका र शान्तिसँग जोडिएका व्यक्ति तथा सङ्घसंस्थाका प्रतिनिधि कार्यक्रममा सहभागी हुने छन् ।

सम्मेलनमा जोर्डनका राजकुमार अलि विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागी हुनुहुनेछ । शिखर सम्मेलनको मुख्य ‘थिम’ नै बालबालिका र शान्ति रहेकोले सोही क्षेत्रका विशिष्ट व्यक्तिहरू सम्मेलनमा सहभागी हुनेछन् ।

प्रदेश सरकारले शिखर सम्मेलनका लागि बजेटमै ६ करोड ५० लाख रुपियाँ विनियोजन गरेको थियो ।

मुख्यमन्त्री चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीबाट बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिनुको साथै लुम्बिनीको महत्वलाई विश्वभर फैलाएर यहाँको विकासमा साझेदार भित्र्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

फागुन २७ गतेदेखि २९ गतेसम्म हुने शिखर सम्मेलनका लागि परराष्ट्र मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्य मन्त्रालयहरू, योजना आयोग, लुम्बिनी प्रदेश भित्रका बालबालिका र शान्तिको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरूको संयोजनमा तयारीका कामहरू भइरहेको छ ।

बालबालिकाको समग्र विकास प्रक्रियामा देखिएका चुनौतीहरू आधुनिक दासत्व, बेचबिखन, बालविवाह, बालश्रम र प्राकृतिक विपत्तिको सिकार भइरहेका विश्वभरका बालबालिकाको संरक्षणका लागि छलफल हुने छ । छलफलपछि बालशोषण अन्त्यका लागि सबैको प्रतिवद्धतासहितको घोषणापत्र जारी हुनेछ । -गोरखपत्र 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation