माघ २६ गतेदेखि दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव

कपिलवस्तु । दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव आगामि माघ २६ गतेदेखि सुरु हुने भएको छ । कपिलवस्तुको शुद्धोधनमा प्रगतिनगर सेवा समाजको आयोजना तथा शुद्धोधन गाउँपालिकाको संरक्षणमा आयोजना हुन लागेको महोत्सव फाल्गुन ७ गतेसम्म सञ्चालन हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृति, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइने आयोजक संस्था प्रगतिनगर सेवा समाजका अध्यक्ष पुष्पराज अर्यालले बताउनुभयो । ५० हजार भन्दा धेरै दर्शक उतार्ने लक्ष सहित आयोजना गरिएको महोत्सवमा १० भन्दा धेरै स्टल कृषिको लागि मात्र छुट्याइएको उहाँले बताउनुभयो । विगतको वर्षमा भएका कमजोरी हटाउदै अहिलेको महोत्सवलाई उत्कृष्ट रुपमा सफल पार्ने सबै पक्षले सहयोग गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले महोत्सवले शुद्धोधनको पहिचानलाई झल्काउदै आर्थिक चलायमान गराउन सहयोग गर्नुपर्ने बताउनुभयो । पालिकाको विकासको लागि आफुहरुले यस्ता महोत्सव र कार्यक्रमलाई संरक्षण गर्दै नेतृत्वदायी भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य लगायतले महोत्सवलाई सफल पार्न सबैले आआफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवका मुख्य आकर्षकहरु दोस्रो प्रगतिनगर डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, भिडियो जोन, विभिन्न झाँकी प्रदर्शनी लगायत महोत्सवका प्रमुख आकर्षकहरु हुन । महोत्सवमा विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया प्रवेश शुल्क निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलन समाजका अध्यक्ष पुष्पराज अर्यालको अध्यक्षता, सदस्य रफिक महमतको स्वागत तथा सञ्चारकर्मी भुपाल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation