लुम्बिनी सरकारद्वारा प्रदेश निजामती सेवा नियमावली स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली(२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली(२०८० स्वीकृत गरेको हो ।

प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरेको हो । ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरु बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियममावली(२०८० ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए।

केही समयअघि प्रदेश निजामती सेवा ऐन जारी भएको थियो । सोही आधारमा सरकारले नियमावली ल्याएको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीहरुको व्यवस्थापन र बृद्धि विकासका लागि ऐन र नियमावली ल्याएको बताए। देशका निजामती कर्मचारीको लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए ।

त्यस्तै, मन्त्रिपरिषद्ले ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड(२०८०’ समेत स्वीकृत गर्ने निणर्य गरेको छ ।सुशासन, विकास, समृद्धिको लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारिता ल्याउन बहुवर्षीय आयोजनाहरुको समुचित व्यवस्थापन गर्नुपर्ने भएकोले मापदण्ड स्वीकृत गरिएको प्रवक्ता पाण्डेयले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation