बिष्णु कुमार आले फागुन १४ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १४ गते बसेको चालु आर्थिक बर्षको १३ औं कार्यपालिकाको बैठकले दिवसको अवसरमा शितगंगा नगरपालिकाले १५ गते मगर दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत बर्ष देखि मगर दिवसको दिन फागुन १५ मा सार्वजनिक बिदा दिन सुरू गरेको शितगंगा नगरपालिकाले त्यसैलाई निरन्तरता दिएको हो ।
शितगंगा नगपालिकामा मगर समुदायको बहुल्यता रहेको पालिका भएको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको शितगंगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो । फागुन १५ गते मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको हस्ताक्षर रहेको जारि सूचनामा उल्लेख गरिएको छ, ‘मगर समुदायको बहुल्यता रहेको यस शितगंगा नगरपालिकामा ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरू बन्द हुने छन् ।` शितगंगामा मगर समुदायको बहुल्यता रहेकाे र यस दिवसलाई मगर समुदायले राष्ट्रिय पर्वको रूपमा मनाउने भएकाले गत बर्षदेखि सार्वजनिक बिदा दिन सुरू गरिएको उप प्रमुख गिता भाटले बताउनु भयो ।
राष्ट्रिय मगर दिवसको अवसरमा शितगंगा नगरपालिकाको विभिन्न स्थानमा मगर संस्कृतिमा आधारित झाँकी प्रर्दशन सहितका कार्यक्रमहरु हुँदै आएको छ । नेपाल मगर संघ नगर तथा वडा समितीको आयोजनामा शितगंगा नगरपालिकाको मगर बहुल्यता रहेका वडाहरूमा मगर दिवस मनाउने कार्यक्रम तय गरिएको नेपाल मगर संघ शितगंगाले जनाएको छ । साथै जिल्लाका ६ ओटै पालिका सहित देशै भरि मगर दिवस मनाउने कार्यक्रम तय गरिएको नेपाल मगर संघ केन्द्रीय समितिले जनाएको छ ।