दाङ । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुको पकेट मार्ने पाँच जनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ। संगठित रुपमा पकेट मार्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएर चोरी मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।
राप्ती गाउँपालिका–३ वसन्तपुर निवासी ३६ वर्षीय भावना मरासिनी लमही आउने क्रममा बसमा सवार पाँच जना व्यक्तिले झोलाभित्र रहेको पर्स र पर्सभित्र रहेको ८ हजार ५ सय १० रुपैयाँ चोरी गरेका थिए। तर, बसबाट ओर्लिएपछि मात्रै मरासिनीले चोरी भएको थाहा पाएकी थिइन्।
उनले प्रहरीमा उजुरी गरेपछि ती पाँच जना व्यक्तिलाई लमही–गढवा सडक खण्डबाट नियन्त्रणमा लिइएको थियो।
सैनामैना– ३ मुर्गियाका ६७ वर्षीय प्रेम कामी, तुलसीपुर– ४ खर्बुवाका ४० वर्षीय रमेश नेपाली, भारतको सिद्धार्थनगरका ५३ वर्षीय अबु फैजल, तुलसीपुर– ७ झुमरेका ४० वर्षीय एकबहादुर नेपाली र सोही ठाउँका २४ वर्षीय अनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट पकेट मार्न प्रयोग गरिएको ब्लेड, स्क्रु–डाइभर, चोरी गरेको नगद रकम बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरु लामो समय देखि बुटवल, कृष्णनगर, गोरुसिंगे, भैरहवा, चन्द्रौटा, भारतको बडनीलगायतका स्थानमा मिलिजुली चोरी गर्दै आएको पाइएको छ।