लुम्बिनी प्रदेशसभाः ६ महिनापछि डाकिएको बैठक ६ मिनेट पनि नबसी स्थगित

दाङ । लुम्बिनी प्रदेश सभाको तेस्रो अघिवेशनको पहिलो बैठक ६ महिनापछि शुक्रबार बस्यो। लामो समयपछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक ६ मिनेट पनि पुगेन। संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि प्रदेश सभाको बैठक पाँच मिनेट १७ सेकेन्ड मात्रै बस्यो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रमपछि राख्ने सहमति भएपछि पहिलो बैठकको समय छोट्टिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

दोस्रो बैठक भोलि शनिबार दिउँसो २ बजे बस्ने गरी पहिलो बैठक सम्पन्न भएको जानकारी सभामुख तुलाराम घर्तीमगरले दिए। दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी छ।

पहिलो बैठकमा सभामुख घर्ती मगरले प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर सुनाए। यस्तै, मन्त्रिपरिषद्‌मा कार्यविभाजन हेरफेरसम्बन्धी पत्रसमेत पढेर सुनाएका छन्।

दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरुको बारेमा पत्रहरु प्राप्त भएको र त्यसबारे सभामा जानकारी गराएका छन्।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएको सभासमक्ष जानकारी गराइएको छ। सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ।

लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन। प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु कामविहीन बनेका थिए। दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए। ५७ घण्टा ३३ मिनेट छलफल हुँदा प्रदेशसभाले मूल विधेयक एउटा, साल बसाली विधेयक दुई वटा, संसोधन विधेयक एक गरी जम्मा चार वटा विधेयक पारित भएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation